डाटा लोड हुँदैछ...

कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित

वीरगंज, ३० चैत ।
नयाँ वर्ष २०८२ को स्वागतमा आयोजित रात्रि बजार शनिबार स्थगित भएको छ ।
 
वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको रात्रि बजार आइतबारसम्म संचालन हुने लक्ष्य रहेको थियो ।
 
हनुमान जयन्तिको अवसरमा आज आयोजित शोभा यात्रामा दुई समुदायबीच भएको झडप हिंस्रक भई स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले आजका लागि रात्रि बजार स्थगित गरेको हो ।

भोलिको रात्रि बजार लाग्ने नलाग्ने विषयमा भने परिस्थिति अनुरुप निर्णय लिइने छ । कर्फ्यु जारी रहने वा नरहने विषयले भोलिको रात्रि बजारको निर्णय हुने आयोजक संस्था वीरगंज महानगरपालिकाले जनाएको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा 'रात्रि बजार' आयोजना गरेको थियो ।

नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो ।  
यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो ।  

महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर