डाटा लोड हुँदैछ...

अपरेशन ‘फोक्सट्रोट चार्ली’ः निशानामा १५ चिकित्सक

काठमाडौं, २६ साउन । बालुवाटारस्थित 'ललिता निवास क्याम्प' भित्रको सरकारी जग्गा हिनामिना र करिब १ सय किलो सुनवारे अनुसन्धान गरिरहेको सीआईबीले अर्काे ठुलो अपरेसन चलाएको छ ।  बिहीवार नक्कली शैक्षिक प्रमाणपत्रविरूद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।

पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित ५ जना छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह छन् । रामबाबु यादवलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रौतहटबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै छ । डा. एरिना काठमाडौंमा पक्राउ परेकी हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरूद्ध सञ्चालन गरिएको अपरेशनको नाम 'फोक्सट्रोट चार्ली' राखिएको छ । अपरेशनको कमान्ड डिएसपी डा.तपन दाहालले गरेका छन् । विगतमा ब्युरोले नै सञ्चालन गरेको नक्कली चिकित्सक विरूद्धको अपरेसन 'क्वाक'कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरूद्ध कारबाई सञ्चालन गरिएको एआईजी बज्राचार्यले जानकारी दिइन् ।

प्रारम्भिक अनुसन्धानबाट आरोपितहरूले एमबीबीएस पढ्नका लागि आईएसी र बीएससीका सर्टिफिकेटहरू डुब्लिकेट बनाउने गरेको थाहा भएको छ । ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् । ब्युरोले काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि अपरेसन चलाइरहेको छ ।

शुक्रवारसम्म नियन्त्रणमा लिएर उनीहरूविरूद्ध लिखत सम्बन्धी कसुर र ठगी मुद्दामा अनुसन्धान गर्ने ब्युरोको तयारी छ । २०७८ मा पनि ब्युरोले ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेर 'लिखत सम्बन्धी कसुर' मा मुद्दा चलाएको थियो ।

कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको १२ कक्षाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ब्युरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले डा.शर्मालाई पक्राउ गरिएको र उनको प्रमाणपत्र नक्कली देखिएको जानकारी संसद् सचिवालयमा गराएकी छन् ।

शर्माले भारतको शैक्षिक संस्थाबाट ल्याएर प्रयोग गरेको प्रमाणपत्रवारे ब्युरोले भारतमा पनि पत्र पठाएर जानकारी मागेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन–'भारतबाट उहाँको प्रमाणपत्र नक्कली रहेको जवाफ आएको छ ।'

मोरड्ढो बेलवारी–९ घर भएका शर्माको प्रमाणपत्रवारे राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ साउन ५ मा नै 'अपुष्टित' भनेर लेखेर आएको एआईजी बज्राचार्यले सभामुखलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ– 'राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ साउन ५ को पत्रबाट १९९६ को रोल नम्बर १०११७ आइएस्सी तहको सुनीलकुमार शर्माको शैक्षिक प्रमाणपत्र अपुष्टित भनि लेखि आएको ।'

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर