डाटा लोड हुँदैछ...

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

काठमाडौं, १७ जेष्ठ: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष पठाए ।

संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर प्रमाणीकरण भएन । त्यसबेला अधिकारीहरूले विधेयक होल्ड गरेको बताए पनि राष्ट्रपति कार्यालयले किन विधेयक प्रमाणीकरण नभएको हो भनेर न सार्वजनिक रुपमा बोल्यो, न संसदलाई जानकारी दियो ।

२५ फागुन २०७९ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भए, २९ फागुनमा उनले शपथ लिएसँगै भण्डारी शीतल निवासबाट विदा भइन् ।

त्यसपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउन खोज्यो । तर राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयकको अवस्था के हो भन्ने प्रष्ट भएन ।

प्रधानमन्त्री र सत्तारूढ दलका नेताहरूले गरेको परामर्शमा कानुन व्यवसायीहरूले नयाँ राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न सक्ने बताए । राष्ट्रपतिले पनि कानुनी परामर्श गरे । उनी नागरिकता विधेयक प्रमाणीकरण होस् भन्ने चाहन्थे, तर संवैधानिक बाटो प्रष्ट नभएकाले अलमलमा थिए ।

त्यसलाई सम्बोधन गर्न १२ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेको कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।साभार : अनलाइनखबर

The post राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर