डाटा लोड हुँदैछ...

गाई पालनमा देशकै उदाहरणीय बन्दै इन्जिनियर श्यामवदन

वीरगन्ज ,८चैत: सफ्टवेयर इन्जिनियर पढेका उनलाई जागिरमा राम्रै थियो । चाहेजति तलब र सुविधा पाइरहेकै थिए । तर, जागिरमा उनको मन अडेन । कृषि पेसामा केही गर्ने अठोटका साथ गाईपालन थाले । वीरगन्जका ३९ वर्षीय श्यामवदन यादव अहिले दूध उत्पादन र दुग्धजन्य पदार्थको कारोबारमा उदाहरणीय बनेका छन् ।

पर्सामा ठोरी–५ सुवर्णपुरमा कलश क्याटल फार्मिङ प्रालि स्थापना गरी गाईपालन थालेका यादवको फार्ममा अहिले होलिस्टेन जातका १ सय ५० वटा गाई छन्, जसबाट दैनिक १ हजार लिटर दूध उत्पादन हुन्छ । त्यही दूधका विभिन्न परिकार बनाएर उनले आफ्नै ‘डेरी हब’ बाट बिक्री गर्दै आएका छन् । डेरी हबका पनि ५ वटा आउलेटहरू छन्, वीरगन्जमा २, लालबन्दी, जनकपुर र बर्दिबासमा १/१ वटा ।

एक दशकदेखि गाईपालनमा सक्रिय भएका यादवले ३ वर्षयता भने इजरायली प्रविधि अपनाएका छन् । फार्ममा उनले दूध मात्र उत्पादन गरेका छैनन् । गोबरबाट बायोग्यास र जैविक मलसमेत उत्पादन गरिरहेका छन् । उनको उत्पादन आफ्नै कलश मिल्क इन्डस्ट्रिज नामको उद्योगमा खपत हुन्छ । त्यसैबाट आइसक्रिम, केक, दही, पनिर, बटर, घिउ, मिठाई, पेस्टी आदि उत्पादन गरी बिक्री गरिन्छ ।

आगामी दिनमा गाईको संख्या बढाएर १ हजार बनाउने र दैनिक २५ हजार लिटरसम्म दूध उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । ‘यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘१ वर्षपछि गाईको लक्षित संख्या पनि थपेर फार्म पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।’ फार्मबाट निस्कने गोबरबाट उनले सीएनजी ग्यास र जैविक मलसमेत उत्पादन गरिरहेका छन् । हाल दैनिक १ टन सीएनजी ग्यास र १ टन जैविक मल उत्पादन भइरहेको यादव बताउँछन् । ग्यासबाट उनले फार्मलाई दैनिक ५ घण्टासम्म पुग्ने विद्युत् उत्पादन गरिरहेका छन् । पछि गाईको संख्या वृद्धिसँगै ग्यासको उत्पादनसमेत बढ्नेछ । त्यो ग्यास औद्योगिक क्षेत्रमा बिक्री गर्न सकिन्छ । फार्मबाट जैविक मलको बिक्रीसमेत गरिन्छ ।

फार्ममा हालसम्म ५० करोड रुपैयाँ लगानी भइसकेको यादव बताउँछन् । पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च भइसकेकाले अब थप ८ सय ५० गाई खरिदमा करिब २७ करोड रुपैयाँ लगानी गर्ने योजना उनको छ । हाल गाईलाई खुवाउने नियमित दानाबाहेक साइलेज (गुन्द्रुक) पनि फार्ममै उत्पादन गरिरहेको यादव बताउँछन् । यस्तो साइलेज खाने गाईले तुलनात्मक रूपमा बढी दूध दिने गरेका छन् ।

नेपालमा इजरायली प्रविधिको पूर्ण स्वचालित तथा कम्प्युटराइज मेसिनबाट गाईपालनदेखि दूध संकलनसम्मको प्रविधि अपनाएको यो पहिलो फार्म रहेको यादवको दाबी छ । ‘गाईपालनदेखि दूध दुहुने स्वचालित मेसिन, गोबर सोहोर्ने, दाना दिने, गोबरबाट बायोग्यास र जैविक मल उत्पादन गर्नेसम्मको सम्पूर्ण प्रविधि इजरायली नै अपनाएको छु,’ उनले भने, ‘त्यसै कारण पनि केवल १७ जनशक्तिले मात्र यो फार्म सञ्चालन गर्न सम्भव भइरहेको छ ।’ मेसिनबाट एउटा गाई दुहुन ५ मिनेट लाग्ने र एक पटकमा ४० वटा गाई मेसिनले दुहुन सक्ने उनले बताए ।

गोबर सोहोर्न पनि स्वचालित मेसिनकै प्रयोग गरिएको छ । गाईलाई गर्मी नहोस् भनी ठूलाठूला पंखा र पानीको फोहोरा (स्पि्रंकल) समेतको व्यवस्था गोठमै गरिएको छ । गाई र तिनका बाच्छाबाच्छीको स्याहार गर्न दैनिक २ चिकित्सकको टोली नै फार्ममा खटिएको छ । फार्ममा माउ गाई र बाच्छाबाच्छीलाई छुट्टाछुट्टै राखिएको छ । दूध दिने र नदिने गाईको गोठ पनि छुट्टाछुट्टै छ । सफासुग्घर गोठ भएकाले दुर्गन्ध नआउने र गाई पनि बिरामी कम पर्ने गरेका छन् । फार्ममै भविष्यमा दाना उद्योग सञ्चालन गर्ने योजना पनि रहेको यादवले जानकारी दिए ।

फार्म सञ्चालन गर्नुअघि उनले १ महिना इजरायल पुगेर तालिमसमेत लिएर आएका थिए । फार्ममा नबिल र ज्योति विकास बैंकले संयुक्त लगानी गरेको यादव बताउँछन् । ३ वर्षअघि फार्म सञ्चालनमा ल्याएलगत्तै २ वर्ष कोरोना महामारीका कारण असर परेको थियो । अहिले फार्मको कामले गति लिएको उनले बताए । १ वर्षभित्र पूर्ण क्षमतामा सञ्चालनमा आइसकेपछि थप २३ जना गरी ४० जनालाई फार्मले प्रत्यक्ष रोजगारी दिने यादव बताउँछन् ।

गाईलाई खुवाउने दानाका लागि ६/६ महिनामा ५/५ सय बिघाको मकै बाली आवश्यक पर्ने भएकाले फार्मले ठोरी गाउँपालिका र छिमेकका अन्य ३ स्थानीय तहका किसानलाई मकै खेती गर्न प्रोत्साहित गरिरहेको छ । ‘ठोरीकै किसानले यस वर्षदेखि मकै खेती सुरु गरिसकेका छन्,’ उनले भने, ‘नगदेबालीको रूपमा सुर्ती र अन्न बालीको रूपमा धान खेती गर्दै आएका यस भेगका किसानलाई मकै खेतीबाट ती बालीभन्दा तीन गुना बढी आम्दानी हुने र स्वास्थ्यमा रहेको जोखिम पनि घट्नेछ ।’

नेपालमा हाल दैनिक २२ देखि २५ लाख लिटर दूधको खपत रहेकोमा स्वदेशी उत्पादन दैनिक ५ देखि ६ लाख लिटर मात्र रहेको र बाँकी आयात नै गर्नुपरेको उनले बताए । त्यसैले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन आधुनिक प्रविधिबाट गाई तथा भैंसी पालनको विकल्प नरहेको उनको भनाइ छ । ‘नेपालाई दूधमा आत्मनिर्भर बनाउन श्वेत क्रान्तिकै आवश्यकता छ,’ उनी भन्छन्, ‘हाम्रो जस्तै ठूलो क्षमताको फार्म देशका अन्य भागमा थप २४/२५ वटाको संख्यामा सञ्चालनमा आए देश दूधमा आत्मनिर्भर बनेन्छ ।’ कान्तिपुर /शंकर आचार्य

The post गाई पालनमा देशकै उदाहरणीय बन्दै इन्जिनियर श्यामवदन appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर