डाटा लोड हुँदैछ...

दिलीप हत्या प्रकरण : क्रसर मालिकले पाए सफाइ , अन्य ३ जना दोषी ठहर


फाइल फोटो

काठमाडौं, ३ फागुन : धनुषाका दिलीप महतोको हत्यामा संलग्न ३ जना दोषी ठहर भएका छन् । अवैध उत्खननको विरोध गर्दा दिलीप महतोको हत्या गर्ने विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् । जितेन्द्र र मुनीन्द्र भने उक्त उद्योगका कामदारका रूपमा कार्यरत थिए । विपिन र मुनीन्द्रलाई दिलीपको मनशायपूर्वक हत्या गरेकोमा दोषी ठहराइएको हो भने जितेन्द्रलाई हत्याको मतियार भएकोमा कसुरदार ठहराइएको हो ।

विपिन र मुनीन्द्रलाई २५ वर्ष वा आजीवन कैदमध्ये कुनै एक सजाय हुनेछ भने जितेन्द्रलाई त्यसको आधा सजाय हुनेछ । आगामी फागुन १२ गते न्यायाधीश गुरुङले नै उनीहरूलाई सजाय निर्धारण गर्ने श्रेष्तेदार विकास बस्नेतले जानकारी दिए ।

हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् ।

घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ओमप्रकाश महतो (दिलीप) ले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए । अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर उनी त्यहाँबाट जीवितै फर्किएनन् ।

उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनिन्द्र र जितेन्द्रसहितका सात जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपक्रमा आत्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना ७ ख ६४१३ नं. टिपरको पछाडि चक्काले टाउकोमा कुल्चाएर मारी सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ ।साभार : कान्तिपुर

The post दिलीप हत्या प्रकरण : क्रसर मालिकले पाए सफाइ , अन्य ३ जना दोषी ठहर appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर