डाटा लोड हुँदैछ...

जरायो शिकार प्रकरण : दुई प्रदेश सभा सदस्य र पूर्व गापा अध्यक्षको संलग्नताको आशंका

बीरगन्ज, १६ पुष -गत पुष ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा अनुमति बिना प्रवेश गरी जरायोको शिकार गरेको घटनामा दुई प्रदेश सभा सदस्य र पूर्व गापा अध्यक्षको संलग्नताको आशंका गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य श्याम खड्का, मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालमाथि निकुञ्जले आशंका गरेको छ । निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा निजहरुलाई अनुसन्धानका लागि बोलाइएको जानकारी दिए ।

४ पुसको राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका शिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको थियो । केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए ।

पछ्याउँदै गएको सेनाको टोलीले फार्महाउसमा छापा मारेर शिकारमा प्रयोग हुने सामाग्री बरामद गरेको थियो । सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन शिकारमा संलग्न रहेको आरोपमा पाँच जना, दुईवटा गाडी, शिकार खेल्न प्रयोग हुने सामाग्री, शिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउको लगायत सार्वजनिक गरेको थियो ।
अनुसन्धानका लागि बोलाइएका खड्का काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । निकुञ्ज स्रोतका अनुसार कांग्रेस नेता खड्काको नाममा रहेको बन्दुक बरामद भएपछि उनलाई अनुसन्धानका लागि बोलाइएको हो । काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछा पोखरी छ ।

निकुञ्ज टोलीले मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसबाट गाडेको अवस्थामा चित्तलको टाउको, गोली गठ्ठा, नाइट भिजन बाइनाकुलर लगायत शिकारमा प्रयोग हुने सामाग्री बरामद गरेको थियो । प्रमोद ४ मंसिरको चुनावमा पर्सा क्षेत्र नं ३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएर मधेश प्रदेशसभामा निर्वाचित भएका थिए ।

शिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दावी छ । छड सिमेन्टको कारोबार गर्ने जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा छ । त्यसैले उनलाई समेत किन कारबाही नगर्ने हो प्रमाणसहित उपस्थित हुन भनिएको छ ।

निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ (पाँचौ संशोधन) अनुसार वन्यजन्तु चोरी निकासी मुद्धा अन्तर्गत यो घटनाको अनुसन्धान गरिरहेको छ । अनुमति नलिई निकुञ्जभित्र वन्यजन्तुको शिकार गर्नु कानुन विपरीत हो ।

संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । बरामद सबै सामग्री परीक्षणको लागि वस्तु निकुञ्जले विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।

The post जरायो शिकार प्रकरण : दुई प्रदेश सभा सदस्य र पूर्व गापा अध्यक्षको संलग्नताको आशंका appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर