डाटा लोड हुँदैछ...

वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने

मधेसखबर
पुष ७ गते ,वीरगञ्ज : नगरवासीको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत महसुल र इनर्जी शुल्क निशुल्क गर्ने वीरगञ्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका बनेको छ ।

वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ ।
बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत महसुल निःशुल्क हुने भएको हो ।अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

बिहीबार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनकाबीच नगरप्रमुख राजेशमान सिंहले आफूहरुले निर्वाचनका बेला जनताकाबीच गरिएको प्रतिबद्धता बमोजिम नगरवासीको विद्युत महसुल निशुल्क गर्ने सम्झौता गरेको बताए ।
महानगरको मेयरमा सपथ लिएसँगै सिंहले पहिलो बैठकबाटै विद्युत महशुल निशुल्क गर्ने निर्णय गर्नुका साथै नगरपरिषद्बाट समेत निर्णय पारित गराएका थिए ।


‘हामीले सपथ लिएसँगै यो निर्णय कार्यान्वयन गराउने प्रयास गरेका हौँ, भनेको भन्दा केही महिना ढिला हुन पुगेको छ,’ उनले भने , ‘लाभग्राही पहिचान र तथ्यांक संकलन गर्न समय लाग्यो, अब ढिलै भए पनि यो महिनादेखि कार्यान्वयनमा ल्याउन हामी सफल भएका छौँ ।’
सम्झौता बमोजिम अब मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले भुक्तानी गर्ने उनले बताए ।८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीअरको एमसिबी प्रयोग गरी अधिकतम् ३० युनिट खपत गर्ने ग्राहकको विद्युत महशुल र न्युनतम मासिक महशुल महानगरले व्यहोर्ने उल्लेख छ ।
यस्तै महानगरभित्र संचालित सिंगल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत महशुल पनि महानगरले नै व्यहोर्ने छ ।
महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुरुप प्राधिकरणले हरेक महिना रिबेटसहितको ग्राहकको शुल्क फस्र्यौट गर्ने छ ।सम्झौता बमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागु हुनु पूर्वको आफ्नो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने पनि सम्झौतामा उल्लेख छ ।


कुनै कारणबस सम्झौता बमोजिमको शुल्क भुक्ता हुन छुट भए उपभोक्ताले मासिक मिटर रिडिङ भएको मितिले ६ दिन भित्र प्राधिकरणको कार्यालयमा दावी गर्न सकिने पनि उल्लेख छ ।

सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झा र सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलनकाबीच सम्झौता आदान प्रदान गरिएको थियो ।

The post वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर