सरकार गठनका लागि समय नथपे फेरि देउवा नै प्रधानमन्त्री
काठमाडौं,१० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति भण्डारीले ३ पुसमा एक साताको समय दिएर प्रतिनिधिसभाका सदस्यलाई बहुमत प्राप्त गरेर प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् ।
तर, हालसम्म कुनै पनि प्रतिनिधिसभा सदस्यले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । सरकार गठनका लागि सत्तारुढ गठबन्धन निरन्तर छलफलमा रहे पनि सहमति जुटाउन सकेका छैनन् ।
दलहरूले बहुमत जुटाएर आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी नगरे राष्ट्रपति भण्डारीले अल्पमतको सरकार गठन गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६ (२)अनुसार सरकार गठनका लागि दिएको समय दलहरुले गुजारेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका प्रक्रिया थाल्नुपर्ने कानुन व्यवसायीहरू बताउँछन् ।
‘आज बेलुका ५ बजेसम्म धारा ७६ (२) अनुसार सरकार गठन नभए राष्ट्रपति भण्डारीले ७६ (३) अनुसार सरकार गठनको प्रक्रिया थाल्नुपर्छ,’ संवैधानिक कानुनविद् डा विपीन अधिकारी बताउँछन् ।
अधिकारीको तर्कसँग वरिष्ठ अधिवक्ताद्वय चन्द्रकान्त ज्ञवाली र उद्धव चौलागाईं सहमत छन् । ‘बेलुका ५ बजेसम्म धारा ७६ (२) अनुसार सरकार गठन भएन भने ७६ (३) अनुसार राष्ट्रपति भण्डारीले सरकार गठनको प्रक्रिया थाल्नुपर्ने संवैधानिक बाध्यता हो,’ वरिष्ठ अधिवक्ताद्वय ज्ञवाली र चौलागाईं बताउँछन् ।
संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन भएमा फेरि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । संविधानको धारा ७६ को उपधारा ३ मा लेखिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीज दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’
प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल कांग्रेस रहेको छ र कांग्रेसको संसदीय दलको नेता शेरबहादुर देउवा रहेका छन् । जसकारण संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन भएमा देउवा नै प्रधानमन्त्री हुनेछन् । तर, उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ ।
The post सरकार गठनका लागि समय नथपे फेरि देउवा नै प्रधानमन्त्री appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment