उपसभामुखमा रास्वपाले ग–र्यो दावी
काठमाडौं,१३ पुस – नव नियुक्त प्रधानमन्त्री प्रचण्डको सरकारमा हाईप्रोफाई मन्त्री आफ्नो कोल्टामा पार्न सफल भएका राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा पनि दावी गरेको छ । प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरुको बैठक बोलाइएको छ ।
रास्वपाका एक सांसदका अनुसार पार्टी नेतृत्वले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ । पार्टी सभापति लामिछानेले आफूले पार्टीलाई धेरैभन्दा धेरै लाभ हुने गरी काम गर्ने भनेकाले धेरै छलफल नभएको उनले सुनाए ।
रास्वपा स्रोतका अनुसार उपसभामुख लिएको अवस्थामा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार हुनेछिन् । यद्यपि पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सोविताको रोजाइ उपसभामुखको सट्टा मन्त्री हुने रास्वपाका नेताहरुको भनाई छ ।
एमाले र माओवादी शीर्ष नेताहरुबीच सरकार गठनकै क्रममा प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भएको छ । त्यसअनुसार राष्ट्रपति पदसँगै सभामुख एमालेले लिने छ भने उपराष्ट्रपतिमा माओवादी केन्द्रको दाबी छ । त्यसकारण पनि उपसभामुखमा रास्वपाले दावी गरेको हो ।
The post उपसभामुखमा रास्वपाले ग–र्यो दावी appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment