प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै
काठमाडौं,१४ पुस । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् ।
त्यसको निचोड सार्वजनिक गर्न उनले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ । नेता साहले अनलाइनखबरसँग भने, ‘पार्टी गठनको तयारीका लागि अनौपचारिक छलफल गरिरहेका छौं । आज त्यसको निचोड सार्वजनिक गर्छौं ।’
यसअघि साहले नयाँ पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको बताएका थिए ।
नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साहले पार्टी गठन गरेपछि अग्रगामी शक्तिहरुसँग एकताका लागि सम्वाद गर्ने बताए ।
तत्कालीन नेकपा -माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।
उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट-३ बाट निर्वाचित भएका थिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट-३ बाटै जितेर चुनावी खेलमा उनले ‘ह्याट्रिक’ गरे । २०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साहले २०७३ मा शहरी विकास मन्त्रालयको नेतृत्व पाएका थिए ।
एमाले र माओवादीको एकता भंग भएपछि उनले एमाले रोजेका थिए । तर, गत मंसिर ४ को निर्वाचन अगाडि साहले एमाले छाडेको घोषणा गरेका थिए ।
The post प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment