डाटा लोड हुँदैछ...

पर्सामा विजयी अनुहारहरु हेर्नुहोस्


वीरगंज, ७ मंसिर । पर्सामा विजयी भएका उम्मेदवारहरु यतिबेला खुशीयाली साटासाट गर्न व्यस्त भएका छन्।  

पर्सा क्षेत्र नम्बर १ मा दोश्रो पटक जित हात पार्दै प्रदीप यादवले विजयी भएका छन्। 

जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार यादव २२ हजार ५ सय ३७ मतका साथ लगातार दोश्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले २० हजार ९ सय १७ मत पाएका छन् । काङग्रेसबाट टिकट नपाएपछि द्धिवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यादव र द्धिवेदी बिचको मतान्तर १ हजार ६ सय २० छ ।

यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एंव निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ । सत्तागठबन्धनका उम्मेदवार हुदाका बाबजुद पनि कर्णले १ हजार १ सय १७ मत मात्रै प्राप्त गरि चौथो स्थानमा सिमित हुन पुगेका छन् । तेश्रो स्थानमा रहेका राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५९ मत पाएका पाएका छन् ।

२०४८ देखि २०७४ सम्म भएका ६ वटा निर्वाचनमा कसैले पनि दोहोर्याएर जित हात पार्न नसकेको पर्सा क्षेत्र नम्बर १ मा यादव भने लगातार दोश्रो पटक जित हासिल गर्दै नयाँ इतिहास रचेका हुन् । पर्सा १ मा प्रतिनिधीसभा सदस्यमा लगातार दोश्रो पटक जितेका यादव पुर्व वन तथा वातावरण मन्त्री पनि हुन् । मंसिर ४ को निर्वाचनको देशैभर जारी मतगणनामा देशरभरबाटै जसपाबाट निर्वाचित हुने यादव पहिलो प्रतिनिधीसभा सदस्य पनि हुन् ।

२०७४ को निर्वाचनमा उनि यहि क्षेत्रबाट २१ हजार १ सय ३२ मतका साथ पहिलो पटक प्रतिनिधीसभा सदस्यामा निर्वाचित भएका थिए । २०७० मा भने उनि नेकपा एमालेका उम्मेदवार विचारी यादवसंग पराजित भएका थिए ।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका प्रमोद जयसवाल निर्वाचित भएको छ । स्वतन्त्र उम्मेदवार जयसवालको पहिलो जित रहेको छ । पर्सा क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा काउली चुनाव चिन्ह लिएर जयसवाल चुनाव लडेका थिए ।

जयसवाल, ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए । जयसवाल र अन्सारी बिचको मतान्तर १ हजार ४ सय ५१ छ । निर्वाचित जयसवाल, सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालका दाइ हुन् ।

तेश्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर चौधरीले ४ हजार ६ सय ५५ मत पाए भने पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादव ४ हजार ५ सय २८ मतका साथ पाँचौ स्थानमा सिमित हुन पुगेका छन् । उनि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर यहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

काङग्रेसका चौरसियाको जित

पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा नेपाली काङग्रेसका उम्मेदवार अजय चौरसिया भारी मतान्तरले निर्वाचित भएका छन् । पाँच दलीय गठबनधनका उम्मेदवार एंव काङग्रेस केन्द्रिय सदस्य चौरसिया निकटतम प्रतिस्पर्धी जसपा–एमाले गठबनधनबाट जसपाका उम्मेदवार सुरेन्द्र कुर्मी भन्दा ६ हजार ६ बढि मत प्राप्त गर्दै विजयी भएका हुन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत पाउदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन् ।चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित भएका हुन् । २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए ।

२०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित भएका थिए । त्यस बेला श्रीवास्तवले २१ हजार १ सय ६९ मत पाएका थिए भने दोश्रो स्थानमा रहेका चौरसियाले १९ हजार ७ सय ४ मत पाएका थिए ।

पर्सा २ को प्रतिनिधीसभा सदस्यमा राप्रपाका उम्मेदवार नरेश कुमार साहले २ हजार ७ सय ४१ मत पाएका छन् ।

लोसपाका रमेश कुर्मी प्रदेशसभा सदस्यमा निर्वाचित

लोकतान्त्रिक समाजवादी पार्टीले पर्सामा खाता खोलेको छ। पर्सा २ (ख) बाट नेता रमेशप्रसाद कुर्मी प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहभन्दा २ हजार ६३७ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन।

रमेशले ९४७१ मत पाउँदा रूपेशले ६ हजार ८३४ मत ल्याएका छन। रमेशलाई बाम लोकतान्त्रिक गठबन्धनको साथ थियो। एमाले जसपा गठबन्धनका हरेराम प्रसादले ३ हजार ७९० मत ल्याएर तेस्रो भएका छन।

मुख्यमन्त्री लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित

मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुर्ई सय १२ मत पाए।

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी

पर्साको निर्वाचन क्षेत्र नम्बर–४ मा कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ।

रिजालले एमालेका जालिम मियाँँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्नुभयो। रिजालले ३१ हजार १ सय ४२ मत र मियाँँले २५ हजार ६ सय १९ मत प्राप्त गरेका छ।

माओवादीका रहबर अन्सारी विजयी

पर्सा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रहबर अन्सारी निर्वाचित भएका छन। अन्सारी एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेस प्रदेशसभामा निर्वाचित भएका हुन् ।

बुधवार बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार अन्सारीले एमाले उम्मेदवार विचारीप्रसाद यादवलाई २ हजार २ सय ९८ मतको अन्तरले पराजित गरेका हुन। अन्सारीले ७ हजार ८ सय १७ मत प्राप्त गरेका थिए। एमालेका उम्मेदवार यादवले भने ५ हजार ५ सय १९ मत प्राप्त गरेका हुन।


प्रदेशसभा सदस्यमा निर्वाचित अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगंज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्याशी थिए।





Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर